सर्लाही, मलंगवा – मलंगवा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शनिबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नगरपालिका वडा नं.–८ स्थित नगरपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा २८४ जनाको निःशुल्क आँखा परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

परीक्षणका क्रममा ७० जना सेवाग्राहीमा मोतियाबिन्दु रोग पाइएको छ। ती बिरामीको शल्यक्रिया आगामी बुधबार वडा नं.–८ स्थित आँखा उपचार केन्द्रमै निःशुल्क गरिने स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए।

उनका अनुसार शिविरमा प्रारम्भिक स्क्रिनिङदेखि औषधि वितरणसमेत सबै सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरिएको थियो।

शिविरको उद्घाटन नगरप्रमुख नागेन्द्र प्रसाद यादवले गरेका थिए। उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद घिमिरे, उपसचिव होमनाथ सुवेदी, अधिकृत राम पुकार राय, वडा नं.–१ का अध्यक्ष नवल किशोर यादव, वडा नं.–३ का अध्यक्ष प्रमोद राय यादव, वडा नं.–६ का अध्यक्ष राम कैलाश यादव, वडा नं.–८ का अध्यक्ष मुकेश जयसवाल, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र लगायत विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

शिविर सञ्चालनमा नेपाल नेत्र ज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणाली अन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल तथा सर्लाही आँखा केन्द्र मलंगवाले प्राविधिक सहयोग गरेका थिए। नेत्र विशेषज्ञ निराजन साहसहितको चिकित्सक टोलीले बिरामीहरूको उपचार गरेको थियो।

स्थानीय स्तरमै निःशुल्क आँखा जाँच तथा उपचार पाउँदा विशेष गरी आर्थिक रूपमा विपन्न वर्गका बिरामीहरू लाभान्वित भएका छन्। नगरप्रमुख र नगरपालिकाप्रति सेवाग्राहीहरूले आभार व्यक्त गरेका छन्।

स्वास्थ्य शाखा प्रमुख साहका अनुसार शिविरबाट मलंगवा नगरपालिका क्षेत्रका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।