काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा शुक्रबार नयाँ मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दीपक साहलाई बर्खास्त गरेएपछि खाली रहेको श्रम, रोजागार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ।

त्यस्तै सुरुदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी भने गौरीकुमारी यादवलाई दिइएको छ।

रामजी सप्तरी– २ बाट निर्वाचित सांसद हुन भने गौरी महोत्तरी– ४ बाट निर्वाचित भएकी हुन्।

यसअघि यी दुवै मन्त्रालय प्रधानमन्त्री शाहले सम्हाल्दै आएका थिए।

राष्ट्रपतिले उनीहरुलाई मन्त्रीमा नियुक्त गरेपछि शपथ पनि आजै हुने छ।

को हुन् गौरी ?

महोत्तरीमै जन्मिएकी यादव रामएकवाल राय यादवकी छोरी तथा शिवजी यादवकी श्रीमती हुन् ।

स्थानीय परिवेशमै हुर्केर बढेकी उनी आफ्नो क्षेत्रको सामाजिक संरचना, भौगोलिक अवस्था र जनजीवनसँग नजिकबाट परिचित छन् ।

शैक्षिक रूपमा उनले विज्ञान संकायमा प्रमाण–पत्र तहसम्म अध्ययन गरेकी छन् । शिक्षा र सामाजिक चेतनालाई उनले आफ्नो सार्वजनिक जीवनको आधार बनाउँदै आएकी छन् ।

को हुन् रामजी?

रामजीले गत चुनावमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह लगायतलाई पराजित गरेका थिए।