मानव अधिकार रक्षकहरूको अवस्था, सवाल र सरोकारवालाहरूको भूमिकाबारे महत्वपूर्ण छलफल कार्यक्रम सर्लाहीमा सम्पन्न भएको छ। ‘साथ साथ सिकाई संजाल’ सर्लाहीको आयोजना तथा Collective Campaign for Peace (कोकैप) को सहकार्यमा आइतबार सदरमुकाम मलंगवास्थित महेन्द होटलमा कार्यक्रम आयोजना गरिएको हो।

मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख नगिना रायको प्रमुख आतिथ्यता रहेको थियो। साथै शाखा अधिकृत रामलाल सहनी, स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साह, विभिन्न शाखा प्रमुखहरू, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष रम्भा झा लगायतको सहभागिता थियो।

कार्यक्रममा ‘साथ साथ सिकाई संजाल’ का जिल्ला अध्यक्ष अब्दुल सहमद नगमा तथा दलित महिला केन्द्र सर्लाहीकी मनोविमर्शकर्ता एवं सञ्जालकी सदस्य दिवानी घिमिरेले सर्लाहीमा मानव अधिकारको अवस्था र संस्थाले गर्दै आएका कामबारे प्रस्तुति दिएका थिए। साथै यौनिक तथा अल्पसंख्यक समुदायको अवस्था, पहुँच र चुनौतीबारे समेत जानकारी गराइएको थियो।

छलफलका क्रममा सहभागीहरूले अझै पनि पितृसत्तात्मक सोचका कारण समाजमा महिला हिंसा भइरहेको बताएका थिए। नगर उपप्रमुख साहले महिला मानव अधिकारकर्मीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तहको न्यायिक समितिमा समेत न्याय पाउन कठिनाइ भइरहेको गुनासो गरिन्।

कार्यक्रममा भ्रूण हत्या, बालविवाह, प्रेम सम्बन्धपछि हुने आत्महत्या तथा साइबर अपराधजस्ता कारणले विभिन्न प्रकारका हिंसा बढ्दै गएको विषय उठाइएको थियो। उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख नगिना राय ,मानव अधिकारकर्मी मुकेश मिश्र, बुधन साह, अपाङ्गता अगुवा बिरेन्द्र राय तथा युवाहरूले मन्तव्य राखेका थिए।

कोकैपका परियोजना संयोजक अञ्जु कडेलले सन् २००१ जुनमा अनौपचारिक रूपमा सुरु भई सन् २००२ डिसेम्बरमा गैरनाफामूलक, गैरराजनीतिक संस्थाका रूपमा दर्ता भएको संस्थाले शान्ति, मानव अधिकार र न्यायका क्षेत्रमा विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।