शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) जिल्ला समिति सर्लाहीको आयोजनामा शिक्षा क्षेत्रमा लगानी अभिवृद्धि विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ।

मलंगवास्थित जिल्ला समन्वय समितिको बैठक कक्षमा आयोजित उक्त कार्यक्रम जिल्ला संयोजक राजेश पासवान को अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री कौशल राय को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, कविलासी नगरपालिकाकी उपप्रमुख पूनम कर्ण, शिक्षा विद् डा. वीरवंश बैठा, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, नागरिक अगुवा राजनिकान्त झा लगायत शैक्षिक सरोकारवाला, विभिन्न संघसंस्था तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“Hold the Flame High: For Education Financing” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा शिक्षा क्षेत्रमा पर्याप्त लगानीको आवश्यकता, स्थानीय सरकारको आन्तरिक राजस्व वृद्धि तथा शैक्षिक गुणस्तर सुधारका विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।

संवाद कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न स्थानीय सरकार र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

त्यसैगरी,  अतिथिहरूले शिक्षा क्षेत्रमा लगानी बढाउन नीति निर्माण र कार्यान्वयन दुवै तहमा सशक्त पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

आयोजकका अनुसार अप्रिल २१ देखि २७ सम्म मनाइने शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह समापन नजिकिँदै गर्दा सो अवसर पारेर आज संवाद कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा उठेका सुझावहरूलाई पालिका स्तरसम्म पुर्‍याई कार्यान्वयनका लागि पहल गरिने कार्यक्रम संयोजक पासवानले जानकारी दिएका छन्।