सर्लाहीमा सेफ गर्ल्स परियोजना अन्तर्गत किशोर–किशोरीहरूको मनोसामाजिक अवस्था पहिचान तथा सरोकारवालाको क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ।

ग्रामीण विकास केन्द्र (RDC) नेपालको आयोजनामा Korea International Cooperation Agency, United Nations Population Fund तथा Good Neighbors International Nepal को प्राविधिक तथा आर्थिक सहयोगमा सर्लाहीको सदरमुकाम मलंगवामा तालिम सञ्चालन गरिएको हो।

कार्यक्रममा हरिपुर्वा नगरपालिका, बसबरिया र कौडेना गाउँपालिकाका स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शकर्ता, स्वास्थ्य स्वयंसेविका, मेन्टर , पत्रकार लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिममा मनोविमर्श विज्ञ विपिन थापा र सामाजिक कार्यकर्ता सुक्रिता राईले प्रशिक्षण दिएका थिए। कार्यक्रममा RDC नेपालका सेफ गर्ल्स परियोजनाका सर्लाही जिल्ला अधिकृत संजिव शर्मा तथा UNFPA का जिल्ला संयोजक बच्चालाल महतोको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार १० देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीलाई सबै प्रकारका विभेदबाट मुक्त गराई सुरक्षित जीवनयापन र जिम्मेवार नागरिक बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

तालिममार्फत सहभागीहरूको किशोर–किशोरीको शारीरिक, मानसिक तथा मनोसामाजिक विकास सम्बन्धी समझ अभिवृद्धि गरिएको छ। साथै मानसिक स्वास्थ्य समस्या, जोखिम तथा संरक्षणात्मक कारकहरूको पहिचान, लैङ्गिक समानता तथा लैङ्गिक हिंसा (GBV) सम्बन्धी संवेदनशीलता, र किशोरमैत्री स्वास्थ्य सेवा (AFHS) का सिद्धान्त तथा व्यवहारिक पक्षबारे ज्ञान सुदृढ गरिएको जनाइएको छ।

त्यसैगरी, सहभागीहरूलाई मनोसामाजिक सहयोग तथा मनोवैज्ञानिक प्राथमिक सहायता (Psychological First Aid) अन्तर्गत “Look–Listen–Link” विधिको व्यवहारिक सीप, सक्रिय सुनाइ, सहानुभूति तथा गैर-आलोचनात्मक सञ्चार सीप विकास गराइएको थियो।

कार्यक्रममा मानसिक स्वास्थ्य तथा लैङ्गिक हिंसासम्बन्धी खुलासा प्रति सुरक्षित, नैतिक तथा पीडित-केन्द्रित प्रतिक्रिया दिने क्षमता विकास गर्नुका साथै जोखिम संकेतहरू पहिचान गरी आवश्यकतानुसार समुदायमै सहयोग वा उपयुक्त रेफरल गर्ने सीपमा पनि जोड दिइएको थियो।

साथै जिल्लास्तरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) सेवा, उपलब्ध स्रोत, सेवा पहुँच तथा सामाजिक सुरक्षा संयन्त्रहरूको द्रुत मूल्याङ्कन (Rapid Assessment) गरी सेवा प्रणालीमा रहेका चुनौती, खाडल तथा अवसरहरूको पहिचान गर्दै दिगो र समन्वित सेवा सुदृढीकरणका लागि कार्ययोजना तयार गर्ने विषयमा पनि छलफल गरिएको आयोजकले जनाएको छ।

यो कार्यक्रम विशेषगरी विद्यालय, मदरसा, स्वास्थ्यचौकी तथा समुदायमा केन्द्रित रहेको छ। सेफ गर्ल्स परियोजना अन्तर्गत RDC नेपालले सन् २०२५ देखि २०२७ सम्म किशोर–किशोरीका लागि महिलामैत्री स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग, क्षमता अभिवृद्धि तथा द्रुत मूल्यांकन गर्ने लक्ष्य लिएको जनाएको छ।