सर्लाहीको मलंगवामा “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने मूल नारासहित महिनावारी स्वच्छता दिवसको अवसरमा बिहीबार सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल परिवार नियोजन संघ सर्लाही शाखाद्वारा आयोजित कार्यक्रममा संघका अध्यक्ष भास्कर बर श्रेष्ठको अध्यक्षता रहेको थियो। कार्यक्रममा मलंगवा नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साह, मलंगवा नगरपालिका वार्ड नं. ८- वडा अध्यक्ष मुकेश कुमार जयसवाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल परिवार नियोजन संघ सर्लाहीका मुख्य प्रबन्धक सुनीत कुमार मुन्नाले महिनावारी स्वच्छता, स्वास्थ्य तथा सचेतनासम्बन्धी प्रस्तुति दिएका थिए।कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका संजय सदासंकर, शिक्षक शैलेन्द्र तिवारी, संघका सदस्य तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले महिनावारीलाई प्राकृतिक प्रक्रिया मानी विभेदरहित समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

सहभागीहरूले मलंगवा नगरपालिका सहित जिल्लाका ग्रामीण भेगहरूमा अझै पनि महिनावारी सम्बन्धी पर्याप्त चेतनाको अभाव रहेको उल्लेख गर्दै विद्यालय र समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।