मलंगवा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५४ करोड १९ लाख ८९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित १६औँ नगरसभामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो।

“समृद्ध मलंगवा, स्वच्छ मलंगवा, सुरक्षित मलंगवा; कृषि, शिक्षा, स्वास्थ्य, सुशासन र पूर्वाधार विकास समृद्ध नगरको आधार” भन्ने मूल नारासहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नगरको समग्र विकासलाई प्राथमिकतामा राखिएको छ।

नगरसभाबाट पारित बजेटमा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको विस्तार, पूर्वाधार निर्माण, सरसफाइ व्यवस्थापन, सुरक्षित नगर निर्माण तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई विशेष महत्व दिइएको नगरपालिकाले जनाएको छ।

बजेट प्रस्तुत गर्दै नगर प्रमुख यादवले प्रभावकारी सेवा प्रवाह, नागरिकमैत्री प्रशासन तथा दिगो पूर्वाधार निर्माणमार्फत मलंगवालाई समृद्ध, स्वच्छ र सुरक्षित नगरका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले नगरवासीको जीवनस्तर सुधार गर्न विकासका योजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

नगरपालिकाको सभा हलमा आयोजित नगरसभामा वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।