कबिलासी नगरपालिका–१, पिपरियास्थित सनराइज इङ्ग्लिश बोर्डिङ्ग स्कूल प्रा.लि. ले विद्यार्थीहरूको बौद्धिक तथा सांस्कृतिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले ऐतिहासिक चिताईन क्षेत्र तथा थारु संस्कृतिको अवलोकन भ्रमण सम्पन्न गरेको छ।

शुक्रबार विद्यालयले सञ्चालन गरेको “थारु संस्कृति अवलोकन तथा लक्ष्मीनाथ मन्दिरको इतिहास सङ्कलन” परियोजनाअन्तर्गत कक्षा ५, ६, ७ र ८ का ९८ जना विद्यार्थीलाई हरिपुर नगरपालिका–७ स्थित ऐतिहासिक चिताईन क्षेत्रमा भ्रमण गराइएको विद्यालयका संयोजक रुपेश साहले जानकारी दिनुभयो।

भ्रमणका क्रममा हरिपुर नगरपालिकाका स्वकीय सचिव अरविन्द चौधरीको समन्वय तथा स्थानीयवासीको सहयोगमा विद्यार्थीहरूले थारु समुदायको संस्कृति, परम्परा र जीवनशैलीबारे प्रत्यक्ष जानकारी लिएका थिए।

थारु संस्कृति विज्ञ उदय नारायण चौधरीले विद्यार्थीहरूलाई थारु समुदायको इतिहास, संस्कृति र परम्परागत जीवनशैलीबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी लक्ष्मीनाथ मन्दिर व्यवस्थापन समितिका सल्लाहकार चेतनारायण धामीले मन्दिरको ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्वबारे विस्तृत जानकारी दिनुभएको थियो।

परियोजनाअन्तर्गत विद्यार्थीहरूले थारु समुदायको परम्परागत भेषभूषा, स्थानीय परिकार, सांस्कृतिक नृत्य तथा संगीतको प्रत्यक्ष अवलोकन गरेका थिए। कार्यक्रममा स्थानीयवासी तथा श्री लक्ष्मीनाथ आधारभूत विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति तथा थारु नृत्यमार्फत सहयोग गरेका थिए।

कार्यक्रममा हरिपुर नगरपालिका–७ का वडाध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धामीको पनि उपस्थिति रहेको थियो।

विद्यालयका संस्थापक गजेन्द्र साह तथा प्रधानाध्यापक चन्द्रकान्त ठाकुरका अनुसार विद्यार्थीहरूलाई पुस्तकमा सीमित ज्ञानभन्दा बाहिर लैजाँदै स्थानीय इतिहास, संस्कृति र सम्पदाबारे प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले यस्तो शैक्षिक परियोजना सञ्चालन गरिएको हो।