सर्लाही । नेपाल–चीन सीमा क्षेत्र रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बड्कुर्वास्थित श्रीराम जनता आधारभूत विद्यालयले गहिरो दुःख व्यक्त गरेको छ।

विद्यालयले मिति २०८३/०४/२२ मा जारी गरेको पत्रमार्फत बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको हो। 

विद्यालयका प्रधानाध्यापक सरोजकुमार सिंहद्वारा हस्ताक्षरित पत्रमा प्राकृतिक विपद्का कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवार तथा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

विद्यालयले विपद्को समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ। साथै विद्यालय परिवारले विपद्मा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

यसैबीच, विद्यालयका प्रधानाध्यापक सरोजकुमार सिंहका अनुसार विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तर्फबाट ५ दिन बराबरको तलब राहतस्वरूप प्रदान गरिएको छ। बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम राहतस्वरूप उपलब्ध गराइएको प्रधानाध्यापक सिंहले जानकारी दिनुभयो।