सर्लाही — शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) जिल्ला समिति सर्लाहीको आयोजना तथा ‘एजुकेसन आउटलाउड’ को सहकार्यमा श्री जनता माध्यमिक विद्यालय, कौडेना–३ मा सुरक्षित विद्यालय वातावरण तथा साइबर बुलिङसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा गरिएको कार्यक्रम विद्यार्थी लक्षित थियो।

बिद्यालयका शिक्षक नागेश्वर ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई शिक्षामा सुरक्षित वातावरणमार्फत सिकाइ प्रभावकारिता बढाउन सकिने विषयमा प्रशिक्षक कमलेश राउतले प्रशिक्षण दिएका थिए। यसैगरी साइबर बुलिङ तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बुढाथोकीले सहजीकरण गर्दै असुरक्षित प्रयोगका कारण दैनिक रूपमा अपराध र घटनाहरू वृद्धि भइरहेको बताउँदै सचेत रहन आग्रह गरेका थिए।

कार्यक्रममा एनसिई नेपालका जिल्ला संयोजक अधिवक्ता राजेश पासवान, आरआर पिकेका अफिल्ड अधिकृत प्रभन्श साह, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका कार्यक्रम अधिकृत गोबिन्द पासवान, महिला अधिकारकर्मी रिन्कु जैसवालको उपस्थिति थियो। कक्षा ९ र १० का ६५ जना विद्यार्थी कार्यक्रमका सहभागी रहेको एनसिई नेपाल सर्लाहीले जनाएको छ।