कबिलासी नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाएको छ। ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित स्वास्थ्य स्वयंसेविकासहित बजार क्षेत्रमा र्‍याली निकालिएको थियो।

दिवसको अवसरमा नगरपालिकाले स्वयंसेविकालाई झोला, न्यानो कपडा र टर्च वितरण गरेको हो। कार्यक्रममा न्यून सहभागिताप्रति उपमेयर करणा कर्णले गुनासो गर्दै आगामी कार्यक्रम पारदर्शी रूपमा जानकारी गराउन आग्रह गरिन्। नगर प्रमुख ब्रह्मदेव रायले स्वयंसेविकाहरुको भूमिकालाई प्रशंसा गर्दै आवश्यक सहयोग थप गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, कार्यक्रमसम्बन्धी सूचना नदिइएको विषयमा समीक्षा गरिने पनि बताए।

कार्यक्रममा नगरपालिका सदस्य विनय कर्ण, स्वास्थ्य संयोजक संजय झा, वडा सदस्य विष्णुकान्त झा लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक सन्तोष कर्णले गरेका थिए।

दिवसको अवसरमा नगरका ४ स्थानका समूहबीच भएको हाजिरीजवाफ प्रतियोगितामा शलेमपुर स्वयंसेविका समूह प्रथम, काबिलासी स्वयंसेविका द्वितीय र पिपरिया स्वयंसेविका समूह तृतीय घोषित भएका छन्। कार्यक्रम काबिलासी–७ गैर बजारस्थित आयुवेर्द औषधालयको सभा हलमा सम्पन्न भएको हो।