फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा चारवटै निर्वाचन क्षेत्रमा १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयहरुले दिएको जानकारी अनुसार क्षेत्र नं. १ मा २९, क्षेत्र नं. २ मा ३१, क्षेत्र नं. ३ मा ३४ र क्षेत्र नं. ४ मा ३९ जनाको उम्मेदवारी परेको छ । अहिले रातिसम्म पनि उम्मेदवारी दर्ताको अन्तिम प्रक्रिया टुंग्याउने काम जारी नै छ ।

यहाँ स्वतन्त्रबाट उम्मेदवारी दिनेमध्ये धेरैजसो दलका उम्मेदवारहरुले उठाएका ‘डमी’ उम्मेदवार छन् । उम्मेदवार भएपछि गाडीघोडाको प्रयोग, प्रचारप्रसारलगायतमा निर्वाचन आयोगबाट हुने छुट तथा सुविधा प्राप्त गर्न उम्मेदवारहरुले नै डमी उम्मेदवार खडा गर्ने गरेका छन् ।

सर्लाहीमा यो पटक नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठ, राजेन्द्र महतो, महिन्द्र राय यादव, डा. अमरेशकुमार सिंहलगायत राष्ट्रिय राजनीतिकका चर्चित नेताहरु चुनावी प्रतिस्पर्धामा रहेकाले चुनावी नतिजालाई निकै चासोका साथ हेरिएको छ ।