नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै सर्लाही–४ अन्तर्गत प्रदेश सभा क्षेत्र (क) मा राम बाबु साहलाई प्रदेश प्रतिनिधिको जिम्मेवारी प्रदान गरेको छ।

मधेस प्रदेश कार्यसमितिको मिति २०८२ माघ १२ गतेको बैठकको निर्णयअनुसार, पार्टी सभापति गगन कुमार थापालाई प्रतिनिधि सभा निर्वाचनमा विजयी गराउने उद्देश्यसहित साहलाई उक्त जिम्मेवारी दिइएको हो।

नेपाली कांग्रेस मधेस प्रदेश समितिका सदस्य तथा संसदीय मामिला तथा कानुन विभाग प्रमुख राम बाबु साहलाई निर्वाचन केन्द्रित कार्यक्रम तयारी र सञ्चालन, प्रचार–प्रसार, पार्टी संगठन सुदृढीकरण, साथै प्रतिनिधि सभा, प्रदेश सभा, पालिका र वडा तहसम्म समन्वयको जिम्मेवारी तोकिएको छ।

प्रदेश कार्यसमितिले पार्टीका सबै तहका संरचना, भातृ तथा शुभेच्छुक संघ–संस्थासँग समन्वय गरी निर्वाचन अभियानलाई प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेको छ। साथै साहको जिम्मेवारी सफल हुने विश्वास व्यक्त गर्दै कार्य सफलताको शुभकामना पनि दिएको छ।