नेपाल रेडक्रस सोसाइटी, सर्लाही जिल्ला शाखाको ४५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सर्लाही शाखाका सभापति नगेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम शनिवार सम्पन्न भएको हो।

मलंगवा नगरपालिका–८ स्थित होटल कुसुम प्यालेसमा आयोजित साधारण सभामा जिल्लाभरिका रेडक्रसका प्रतिनिधि, आजीवन सदस्य, स्वयंसेवक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि सिंहले रेडक्रसले विपद् व्यवस्थापन, स्वास्थ्य सेवा, रक्त सञ्चार तथा मानवीय सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा संस्थागत सुदृढीकरण र सेवा विस्तारमा जोड दिनुपर्ने बताए।

सभापति चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रेडक्रस सर्लाहीले समुदायस्तरमा सञ्चालन गरेका कार्यक्रम, चुनौती र आगामी योजनाबारे जानकारी गराए।

साधारण सभामा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी कार्ययोजना र नीतिगत विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।