सर्लाही जिल्लाको बलरा नगरपालिका–१० सुदामा एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारत सीमा नजिक बसोबास गर्दै आएका ६० वर्षीय भानु महतो र उनकी ५६ वर्षीया पत्नी निर्मलादेवी महतोको शव घरदेखि करिब आधा किलोमिटर उत्तर–पश्चिमतर्फ रहेको गोठमा फेला परेको हो।

प्रहरीका अनुसार गोठको बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी दुबै जना झुण्डिएको अवस्थामा भेटिएका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सुकुर टोलीसहितको प्रहरी घटनास्थलमा पुगेको थियो।

सर्लाहीका डीएसपी सरोज राईले घटनाबारे पुष्टि गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।