वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विक गत शनिबार बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन् । उनी उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन् । शनिबार भएकाले आमा तिला र उनी आफ्नो गाउँ गुर्भाकोट जाने योजना अघिल्लो दिन नै बनेको थियो ।

तर इनिसाले १–२ घण्टामै फर्किहाल्छु, त्यसपछि गाउँ जाने भनेपछि आमा तिलाले छिटो आउनु भन्दै पठाएकी थिइन् । तर छोरी फर्किइनन् ।  ‘ढिलोमा ८ बजेसम्म फर्किहाल्छु भनेकी छोरी ९ बजेसम्म नआएपछि मैले फोन गरें, तर मोबाइल अफ थियो,’ भक्कानिँदै आमा तिलाले भनिन्, ‘त्यसपछि शिक्षकको मोबाइलमा पनि फोन गरें, तर अफ थियो ।’

त्यसको करिब १० मिनेटपछि आमा तिलालाई नचिनेको नम्बरबाट फोन आयो, इनिसा सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन् भनेर ।  हतार–हतार सहिद पार्क पुग्दा इनिसाको शरीर नग्न, रक्ताम्मे र बेहोस अवस्थामा थियो । उनी पुग्दा प्रहरी पनि घटनास्थल पुगिसकेको थियो । ‘शरीर पूरै रक्ताम्मे थियो, कपाल लुछिएको थियो, वरिपरि घाँस मडारिएको थियो,’ उनले भनिन्, ‘नग्न भएकाले शरीर कालो ज्याकेटले छोपिएको थियो, त्यो हेर्न नसकी म त्यहीं बेहोस भएछु ।’ 

इनिसालाई प्रहरी र स्थानीयले हतार–हतार झन्डै १० मिनेट दूरीको प्रदेश अस्पताल पुर्‍याए । तर उपचार सुरु नहुँदै डाक्टरले मृत घोषणा गरे । उनको शव प्रदेश अस्पतालमा राखिएको छ । पोस्टमार्टम भइसकेको छ । परिवारले दोषीमाथि कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएको छ । ‘सामूहिक बलात्कारपछि हत्या गरियो, न्याय नपाए शव बुझ्दैनौं,’ आमा तिलाले भनिन् । 

दुवै रिपोर्ट आएपछि घटनाको वास्तविकता थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए । उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखिन्छ ।  पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएकाले अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरिन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यले बताए ।