मलंगवा, सर्लाही । सर्लाही जिल्लामा महिलामाथि हुने हिंसाका घटना बढ्दो क्रममा रहेको तथ्य सार्वजनिक भएको छ। महिला पुनर्स्थापना केन्द्र (ओरेक) सर्लाहीले जनवरीदेखि मार्च २०२६ सम्मको तीन महिनाको अवधिको लैङ्गिक हिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै जिल्लामा कुल १६३ वटा हिंसाका घटना दर्ता भएको जनाएको हो।

प्रतिवेदनअनुसार ओरेक सर्लाहीमा ३० वटा घटना प्रत्यक्ष दर्ता भएका छन् भने ३ वटा घटना सञ्चारमाध्यममार्फत प्राप्त गरी कुल ३३ वटा घटनाको अभिलेखीकरण गरिएको छ। यसै अवधिमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा १५, जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा ६३ तथा महिला सेलमा घरेलु हिंसासम्बन्धी ५० वटा उजुरी दर्ता भएका छन्।

ओरेकद्वारा  जारी गरिएको प्रतिवेदनमा ३३ घटनामध्ये ६३.६४ प्रतिशत अर्थात् २१ जना महिलामाथि घरेलु हिंसा भएको पाइएको छ। त्यस्तै १८.१८ प्रतिशत सामाजिक हिंसा, ३.०३ प्रतिशत यौन हिंसा, ९.०९ प्रतिशत हत्या तथा ६.०६ प्रतिशतले आत्महत्या वा आत्महत्याको प्रयास गरेको तथ्यांकले देखाएको छ।

वैवाहिक अवस्थाअनुसार हिंसामा पर्ने महिलामध्ये ७५.७६ प्रतिशत विवाहित रहेका छन्। प्रतिवेदनले दाइजो प्रथा, बहुविवाह, बालविवाह, पितृसत्तात्मक सोच, आर्थिक निर्भरता तथा सामाजिक विभेदलाई महिलामाथि हुने हिंसाका प्रमुख कारणका रूपमा औंल्याएको छ।

पीडादायी प्रतिनिधिमूलक घटना

प्रतिवेदनमा समेटिएका घटनाहरूले महिलाले भोग्नुपरेका यातना झनै उजागर गरेका छन्। एक घटनामा गर्भवती महिलालाई श्रीमान्ले नियमित कुटपिट गर्ने, स्वास्थ्य उपचार तथा खानपानमा बेवास्ता गर्ने र अन्ततः घरबाट निकालिदिएको उल्लेख छ। ती महिलाले अहिले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेकी छन्।

अर्को घटनामा एक महिलामाथि विवाहपछि निरन्तर मानसिक तथा शारीरिक हिंसा, चरित्र हत्या, आर्थिक नियन्त्रण, कुटपिट तथा जबर्जस्ती गर्भपतन गराइएको प्रतिवेदनमा उल्लेख छ। ती महिलाले पनि अन्ततः कानुनी प्रक्रियामार्फत न्याय खोज्ने निर्णय गरेकी छन्।

संयुक्त पहलको आवश्यकता

ओरेक सर्लाहीका जिल्ला कार्यक्रम अधिकृत गुञ्जा कुमारीका अनुसार जिल्लामा महिला तथा किशोरीमाथि हुने हिंसाका घटना संरचनागत विभेद, दाइजो प्रथा, बालविवाह, बोक्सीको आरोप, बहुविवाह तथा अन्य हानिकारक सामाजिक अभ्यासका कारण बढिरहेका छन्।

उनले हिंसा न्यूनीकरणका लागि नेपाल सरकार, स्थानीय तह, विद्यालय, गैरसरकारी संस्था तथा युवाहरूको सक्रिय सहभागितामा सचेतना र आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

file:///C:/Users/MANISHA%20COMPUTER/Downloads/press%20Release_Sarlahi.pdf