सर्लाही २०८३ जेष्ठ-८ गते , विद्यालय स्वास्थ्य तथा पोषण (SHN) कार्यक्रमअन्तर्गत हरिपुर्वा नगरपालिकामा फोकल पर्सनहरूका लागि शारीरिक स्वास्थ्य प्रारम्भिक जाँच तथा स्क्रिनिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
हरिपुर्वा नगरपालिकामा सञ्चालित “बालसमृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजना अन्तर्गत राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK), World Vision International Nepal तथा हरिपुर्वा नगरपालिका को सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सामुदायिक विद्यालय तथा मदरसाका प्रधानाध्यापक एवं फोकल शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३८ जना सहभागीहरूको उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूको शारीरिक स्वास्थ्य अवस्था पहिचान, प्रारम्भिक स्वास्थ्य जाँच प्रक्रिया, पोषण अवस्था सुधार तथा विद्यालयस्तरमा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी विषयमा विस्तृत सहजीकरण गरिएको थियो। कार्यक्रममा शिक्षा शाखा अधिकृत जनक काफ्ले तथा RRPK का NCG Officer राजेश साहले सहजीकरण गर्नुभएको थियो भने स्वास्थ्य शाखाबाट लालबाबु, अरुण साह तथा चन्द्रकिशोर साहज्यूहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा रामजानकी प्रा.वि.का प्रधानाध्यापक चन्देव रायले कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै विद्यालयस्तरमा यस्ता कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी प्राप्त गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।
त्यसैगरी शिक्षा शाखा अधिकृत जनक काफ्ले ज्यूले विद्यालयस्तरमा सञ्चालन हुने स्क्रिनिङ कार्य जेष्ठ महिनाभित्र सम्पन्न गरी IEMIS प्रणालीमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने विषयमा जोड दिनुभयो।
World Vision International Nepal बाट प्रतिनिधित्व गर्दै सीता चौधरी ज्यूले बालबालिकाको स्क्रिनिङ गर्दा सबै शिक्षक तथा सम्बन्धित व्यक्तिहरूले संवेदनशीलता र ध्यानपूर्वक कार्य गर्नुपर्ने बताउनुभयो। साथै उहाँले सबै बालबालिकाको अनिवार्य रूपमा स्क्रिनिङ गर्न आग्रह गर्नुभयो।
कार्यक्रमको समापन हरिपुर्वा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत प्रकाश अर्याल ज्यूले गर्नुभएको थियो। उहाँले बालबालिकाको भविष्य निर्माणमा शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालय स्वास्थ्य तथा पोषण क्षेत्रमा सहकार्य गरिरहेको RRPK,BWSN तथा World Vision International Nepal प्रति धन्यवाद व्यक्त गर्नुभयो।

उक्त जानकारी RRPK का कर्मचारी राजेश साहले प्रदान गर्नुभएको हो।